काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनप्रति कडा आपत्ति जनाएका छन्।
उनले सुरक्षा निकायका प्रमुखलाई बोलाएर ‘शनिबार वा आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर’ भन्ने आदेश दिइएको जिकिर गर्दै उक्त कदमले सरकारको वास्तविक चरित्र उजागर गरेको बताएका छन्।
‘सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले ‘शनिबार या आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर’ भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नांगो बनाएको छ,’ उनले भने।
बस्नेतले सुकुम्बासी बस्तीमाथि डोजर चलाउने निर्णय जनविरोधी भएको आरोप लगाए। उनले यसअघि निर्वाचनको समयमा रास्वपा सभापति रवि लामिछानेले सुकुम्बासीको पक्षमा गरेको प्रतिबद्धता स्मरण गर्दै अहिलेको अवस्थासँग तुलना गरेका छन्। ‘सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु भन्ने प्रतिबद्धता कहाँ गयो?’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।
उनले लेखेका छन्, ‘केही समयअघि निर्वाचनको मुखमा उहाँकै दलका सभापति रवि लामिछानेले ‘सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु’ भनेर ठूलो भाषण दिदै प्रतिवद्धता जायर गर्नुभएको थियो। आज त्यो प्रतिबद्धता कहाँ गयो? जनतालाई भ्रममा राख्ने भाषणमा मात्रै सीमित हो त? ‘






