काठमाडौं : चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्समाथि फराकिलो जित हासिल गरेको छ ।
बिहीबार वाङ्खेडे स्टेडियममा भएको खेलमा चेन्नईले मुम्बईलाई १०३ रनले हराएको हो । चेन्नईले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमा अलआउट भयो । तिलक वर्माले सर्वाधिक ३७ रन बनाए भने सूर्यकुमार यादवले ३६ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मुम्बईको इनिङ धराशायी बनाउन चेन्नईका अकिल होसेनले ४ ओभरमा १७ रन मात्र दिएर ४ विकेट लिए । नूर अहमदले २ विकेट लिँदा मुकेश चौधरी, अंशुल कम्बोज, जेमी ओभरटन र गुर्जपनित सिंहले १-१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सन्जु सामसनको अविजित शतक मद्दतमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । ओपनर सामसन ५४ बलमा १० चौका र ६ छक्कासहित १०१ रन बनाएर अविजित रहे ।
उनले इनिङको अन्तिम बलमा चौका प्रहार गर्दै शतक प्रहार गरेका थिए । सिजनको उनको यो दोस्रो शतक हो । यसअघि दिल्ली क्यापिटल्स विरुद्धको खेलमा पनि शतक बनाएका थिए । कप्तान रुतुराज गायक्वाडले २२, डेवाल्ड ब्रेभिसले २१, कार्तिक शर्माले १८ अनि जेमी ओभरटनले १५ रन बनाए ।
मुम्बईका अलाह गजनफर र अश्वनी कुमारले २-२ विकेट लिँदा जसप्रित बुमराह र मिचेल सान्टनरले १-१ विकेट लिए ।





