काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा रोयल च्यालेन्जर्स बैंगलुरुले पाँचौँ जित निकालेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै बैंगलुरुले सात खेलमा पाँचौँ जित निकालेको हो । समान खेल खेलको गुजरातको भने यो तेस्रो हार हो । सुरुआती ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०५ रन बनाएको थियो । २०६ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १८.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
गुजरातका लागि साई सुदर्शनले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै शुभमन गिलले ३२, जस बट्लरले २५ जोडे । वासिङ्टन सुन्दर र जाशन होल्डरले नटआउट रहँदै क्रमशः १९ र २३ रन जोडे । बलिङतर्फ बैंगलुरुका भुवनेश्वर कुमार, जोश हेजलउड र सुयस शर्माले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको बैंगलुरुका विराट कोहलीले ८१ रनको अर्धशतकीय पारी खेल्दा देभदत्त पाडिकलले पनि ५५ रनको अर्धशतकीय पारी खेले । ज्याकोब बेथलले १४, जितेश शर्माले १० जोडे । टिम डेभिड र कुणाल पाण्ड्याले अविजित रहँदै १० र २३ रन जोडे ।





