काठमाडौं : रविन्द्र मिश्रले प्रधानमन्त्री बालेन्द्र शाहको कामको प्रशंसा गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस राख्दै उनले प्रधानमन्त्रीले शानदार काम गरेको बताए।
उनले प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँगको पहिलो भेट जसरी गरे त्यो एकदमै शानदार रहेको बताए। त्यो भन्दा पनि शानदार सुकुम्बासीलाई व्यवस्थित गर्न अपनाएको रणनीति रहेको उनले बताए।
पहिलेका प्रयासहरू जस्तै सिधै डोजर चलाएको भए आफूले घोर भत्सर्ना गर्ने बताउँदै उनले बालेनको यो शैली ब्रिलियन्ट रहेको बताए। ‘पहिले सूचना, अनि सहयोग, अनि अस्थाई व्यवस्थापन, अनि प्रमाणिकरण, अनि स्थाई व्यवस्थापन’, उनले भने,‘ दशकौंदेखि यस मुद्दाको वरिपरिको परिस्थितिलाई ध्यानमा राख्दै चालिएका कदमहरू योभन्दा राम्रो हुन सकेनन्।’
के गर्ने भन्दा पनि कसरी गर्ने धेरै महत्वपूर्ण हुने बताउँदै उनले थप भनेका छन्,‘यति ठूलो काम गर्दा अलिअलि पीडा हुनु स्वभाविक हो तर जसको कोही हुँदैन, तिनका लागि राज्य हुनै पर्छ। बालेनजीले वाचा गरे अनुसार देशभरीका अतिक्रमित जमिन यसैगरी संवेदनशीलतापूर्वक खाली गरियोस् र वास्तविक सुकुम्वासीको व्यवस्थापन होस्।’





