मुस्ताङ : समुद्री सतहदेखि ५ हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् ।
मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै मुस्ताङ आइपुग्छन् । गण्डकी प्रदेशको कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लालाई राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग भनिन्छ । हप्तौँहप्ता लाग्ने यही पदमार्ग अहिले सडक सञ्जालका कारण छोट्टिदै जान थालेको छ ।
सडक कनेक्टिभिटीले राउन्ड अन्नपूर्ण सर्किटका धेरै ठाउँको पदयात्रा खुम्चिँदै गरे पनि (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग जीवन्त छ । थोरङपास पदमार्ग साहसिक पदयात्रा गर्ने पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ । बर्सेनि ६ महिना निकै चहलपहल हुने थोरङलापास पदमार्ग ६ महिना अवधि भने सुनसान हुन्छ ।





