काठमाडौं : म्यानचेस्टर सिटी साउथह्याम्प्ट विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै एफए कप फुटबलको फाइनलमा पुगेको छ।
योसँगै सिटी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो। पेप ग्वार्डिओलाको टोली यो सिजन लिग (काराबाओ) कप जितिसकेको छ। अब सिटी मे १६ मा लन्डनमा हुने फाइनलमा चेल्सी वा लिड्स युनाइटेडमध्ये एक टोलीको सामना गर्नेछ।
बर्न्लीविरुद्धको खेलपछि ग्वार्डिओलाले टोलीमा ८ परिवर्तन गरेका थिए। त्यसैले सुरुआती समयमा सिटीले राम्रो लय समात्न सकेन र स्पष्ट अवसर बनाउन कठिन भयो। खेलको पहिलो हाफमा दुवै टोलीले खासै राम्रो अवसर बनाउन सकेनन्। दोस्रो हाफमा पनि गोल हुन सकेन र खेल निकै प्रतिस्पर्धात्मक रह्यो।
खेल सकिन ११ मिनेट बाँकी रहँदा फिन अजाजले टाढाबाट गोल गर्दै साउथह्याम्प्टनलाई अग्रता दिलाए। तर ८१ औं मिनेटमा जेरेमी डोकुको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि सिटीले खेल बराबरी गर्यो। ८७ औं मिनेटमा निको गोन्जालेजले शक्तिशाली प्रहार गर्दै गोल गरेर सिटीलाई २–१ को जित दिलाए।





