काठमाडौं : वैशाख २५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ।
ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक समारोहबिच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवालीको उपस्थिति थियो।
सार्वजनिक ट्रेलरले ‘मालती मंगले’लाई पूर्ण पारिवारिक र सामाजिक कथामा निर्माण गरिएको चलचित्रको रूपमा चिनाएको छ। ट्रेलरमा मालती र मंगलेबीचको प्रेम कथा, उनीहरूको सम्बन्धमा आउने दरार र पारिवारिक खटपटलाई प्रस्तुत गरिएको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन्। पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।








