कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

२०८३ बैशाख १४, सोमबार

सिरहा : सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा बनाइएको अस्थायी बाँध गएराति बाढीले बगाउँदा आवतजावतमा समस्या भएको छ ।

पुलको ‘डाइभर्सन’ भन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटोको बाँध बगाएपछि सवारी सञ्चालन अवरुद्ध भएको छ । स्थानीय रामचन्द्र यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारीसाधन बीचमै अलपत्र परेका थिए । पछि स्थानीयवासीको सहयोगमा ती सवारीसाधन तारिएको थियो । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले लगातारको वर्षाले संरचनामा क्षति पुगेको जानकारी दिए ।

उनले भने, “निर्माण व्यवसायीले तत्काल डोजर प्रयोग गरी माटो हालेर बाँध पुनर्निर्माण गरेको छ र आवतजावत आंशिक रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको छ ।” हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त कमला नदी पुल निर्माण भने लामो समयदेखि हुन सकेको छैन । २०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा सो पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो ।

२०७१ मंसिरमै सम्पन्न हुनुपर्ने पुल हालसम्म पनि निर्माण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार