काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै कमिटीहरुमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समिति आजको बैठकले सो निर्णय गरेको हो । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकको समापनमा तत्कालीन योजनाको चार बुँदे रुपरेखा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बैठकले पास गरेको एक पदाधिकारीले जानकारी दिए ।
प्रचण्डले प्रस्तुत गरेको योजनाको रुपरेखाको पहिलो नम्बरमा पार्टी पुनर्गठनको विषय छ । त्यसमा ‘वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठन प्रक्रियालाई महाधिवेशनसम्म पूर्णता दिने’ उल्लेख छ ।
यसैगरी दोस्रो बुँदामा पार्टीका हरेक तहमा निर्वाचित कमिटी बनाउने उल्लेख छ । ‘वडादेखि केन्द्रसम्म सानो, चुस्तदुरुस्त निर्वाचित कमिटी बनाउने र त्यसमा ५० प्रतिशतसम्म युवा र नवयुवाहरुलाई नेतृत्वमा ल्याउने निर्णय भएको छ,’ ती पदाधिकारीले भने ।
यसैगरी पार्टी पुनर्गठनसँगै सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि वाम एकता र ध्रुवीकरणमा जोड दिने विषय पनि उल्लेख छ ।संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिबीच साझा समझदारी बनाएर राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा पहलकदमी लिने निर्णय पनि नेकपाले गरेको छ ।
यसैगरी अन्तर्राष्ट्रिय क्षेत्रमा वैचारिक, राजनीतिक र कूटनीतिक तहबाट योजनाबद्ध ढंगले पहलकदमी लिने निर्णय पनि नेकपाले गरेको एक पदाधिकारीले जानकारी दिए ।










