काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकले आयकर ऐन २०५८ अनुसार करकट्टी विवरणलाई नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागको प्रणालीसँग एकीकृत गर्नुपर्ने भएकाले प्यान अनिवार्य भएको जनाएको छ। ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप वा आधिकारिक पोर्टलमार्फत “PAN Update” विकल्प प्रयोग गरी आफ्नो विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।
साथै, नजिकैको शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने बैंकले जनाएको छ। बैंकका अनुसार प्यान अद्यावधिक भएपछि ब्याजमा काटिएको कर स्वचालित रूपमा इलेक्ट्रोनिक टीडीएस (e-TDS) प्रणालीमा प्रविष्ट हुनेछ। यसले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया सहज बनाउने र ग्राहकलाई बैंक धाउनुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ।
त्यस्तै, बैंकले ग्राहकलाई इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। भिडियो केवाईसी तथा मोबाइल बैंकिङ एपमार्फत इमेल अपडेट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। इमेल अद्यावधिक भएपछि ग्राहकले बैंकिङ सूचना, विवरण तथा सेवा सम्बन्धी जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्।
बैंकले प्यान वा इमेल अद्यावधिक नगरेको अवस्थामा कर विवरण मिलानमा समस्या आउन सक्ने भएकाले त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट पारेको छ। ग्राहकलाई आवश्यक सहयोगका लागि बैंकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।





