काठमाडौँ : पछिल्लो एक महिनाको अवधिमा देशभरबाट चार सय १७ बिचौलिया पक्राउ परेका छन् ।
नेपाल प्रहरीले काठमाडौँ उपत्यकाबाट १२३, कोशी प्रदेशबाट ४५, मधेसबाट ५०, बागमतीबाट ७६, गण्डकीबाट २७, लुम्बिनीबाट ४४, कर्णालीबाट २४ र सुदूरपश्चिमबाट २८ जनालाई गरेको हो । पक्राउमध्ये १२१ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएको र २९६ जना व्यक्तिलाई छानबिनपछि छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले जानकारी दिए ।
बिचौलियारहित, नागरिकमैत्री, कानुनसम्मत, पारदर्शी र छिटोछरितो प्रभावकारी सेवा प्रवाहलाई सहज बनाउन प्रहरीले भूमिका खेल्दै आइरहेको उनको भनाइ छ । वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गर्ने सात पक्राउ यसैबीच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तेह्रथुमका ४० वर्षीय सुरज पन्धाक लिम्बू, सोलुखुम्बुका ४६ वर्षीय कमलबहादुर पुलामीमगर र २९ वर्षीय सागर शेर्पा, काभ्रेपलाञ्चोकका ३९ वर्षीय विनोद थापा, २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज गौतम तथा सिन्धुपाल्चोकका ५६ वर्षीय सूर्यप्रसाद कोइराला छन् ।
उनीहरूले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवासँग करोडौँ रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।





