जनकपुरधाम : जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले चन्दन कुमार सिंहलाई मधेस प्रदेशको संसदीय दलको नेता चयन गरेका हुन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिले मंगलबार एक पत्र जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सिंहलाई नयाँ जिम्मेवारी सुम्पिएको जनाएको छ।
‘उपरोक्त सम्बन्धमा आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेताको रूपमा चन्दन कुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ अध्यक्ष राउतले जारी गरेको पत्रमा भनिएको छ।
पार्टीले यस निर्णयको जानकारी मधेस प्रदेशसभा सचिवालय र जनमत पार्टी मधेस प्रदेश संसदीय दललाई समेत गराइसकेको छ। यसअघि मधेस प्रदेशमा जनमत पार्टीको संसदीय दलको नेताको रूपमा महेशप्रसाद यादव रहँदै आएका थिए। नयाँ चयन गरिएका नेता सिंह जनमत पार्टीका केन्द्रीय सचिव समेत हुन्। सोमबार नै जनमतले सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो । तर यसमा यादवले असहयोग गरेपछि नयाँ नेता चयन गरिएको बताइएको छ ।






