काठमाडौं : चर्चित गीतकार, फिल्म निर्माता तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको शुक्रबार सार्वजनिक दुई पोस्टरले कथावस्तु र पात्रहरूको चरित्रचित्रणबारे प्रकाश पारेको छ ।
फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्मातामा सरला रिजाल छिन् । डा. कपिल रिजाल र सुमन गिरी निर्माताको रूपमा छन् । फिल्ममा शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठले सम्पादन तथा एलिस कार्कीको पार्श्व संगीत रहेको छ ।











