काठमाडौँ : दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको फिल्म ‘मितज्यु’ को ट्रेलरले युट्युबमा निकै राम्रो चर्चा कमाइरहेको छ।
ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको यो ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको हो। गत सोमबार राजधानीमा एक पत्रकार सम्मेलनका बिच सार्वजनिक गरिएको ट्रेलरले केही दिनमै १० लाख (एक मिलियन) भन्दा बढी भ्युज पार गरेको छ।
नेपाली समाजमा हराउँदै गएको मितेरी साइनोको मौलिक कथालाई फिल्मले समेटेको छ। गाउँमा नयाँ बाटो पुगेपछि गाडी चालकहरूबिच हुने प्रतिस्पर्धा, झगडा र दुई मितहरू दयाहाङ र सौगात बिचको सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्।
फिल्ममा दया, सौगात र तेरियाका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, खड्गबहादुर पुन मगर ९खबपु० लगायतको अभिनय रहेको छ। चलचित्रको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य समावेश छ। श्रीकृष्ण बम मल्लको संगीत रहेको यस फिल्मलाई शिशिर विशंखेले छायाङ्कन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।
आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म आगामी जेठ ८ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ।





