काठमाडौँ : इरान र ओमानले होर्मुज स्ट्रेट (जलमार्ग) बाट आउजाउ गर्न जहाजहरूसँग शुल्क लिने व्यवस्था लागु गर्न छलफल गरिरहेका छन्।
न्युयोर्क टाइम्सका अनुसार ‘इरानको नवगठित ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ (पीजीएसए) ले होर्मुज स्ट्रेटको ‘व्यवस्थापन पर्यवेक्षण क्षेत्र’ तोकिएको बताएको छ। अथोरिटीका अनुसार अब यहाँबाट पार गर्न अनुमति आवश्यक पर्नेछ।’
गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले होर्मुज स्ट्रेटमा व्यावसायिक यातायातमा लगभग रोक लगायो, जसका कारण अन्तर्राष्ट्रिय ढुवानीमा असर पर्यो र ऊर्जाको मूल्य बढ्यो।
यसपछि इरानका अधिकारीहरूले उक्त जलमार्गबाट राजस्व संकलन गर्ने विकल्पका विषयमा छलफल गर्न थाले। र, अहिले त्यो लागु गर्ने तयारी गरिएको हो।
उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने होर्मुज स्ट्रेट एक अन्तर्राष्ट्रिय जलमार्ग भएको उल्लेख गर्दै यसमा शुल्क लाग्ने व्यवस्था गर्न नहुने बताइरहेका छन्।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पनि होर्मुज जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने बताएका छन्।
विश्वको झन्डै २० प्रतिशत समुद्री तेल र प्राकृतिक ग्यास ढुवानी होर्मुज स्ट्रेट भएर गरिन्छ।
त्यसैले त्यहाँ कुनै पनि शुल्क वा प्रतिबन्धले विश्वव्यापी ऊर्जा बजार र ढुवानीमा असर पर्छ।





