सीमा विवादबारे सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच संवाद

२०८३ जेष्ठ ८, शुक्रबार

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलबीच बाजुराको हिमाली गाउँपालिका–३ च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकी भवनमा भएको अवरोधबारे टेलिफोन संवाद भएको छ ।

शुक्रबार भएको संवादमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा उक्त क्षेत्रमा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको र हिमाली गाउँपालिकामार्फत निर्माण कार्य अघि बढिरहेको जानकारी गराएका थिए ।

उनले प्रहरी चौकी निर्माण भइरहेको क्षेत्र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने स्पष्ट पार्दै अवरुद्ध निर्माण कार्य तत्काल पुनः सञ्चालन गर्न तथा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक वातावरण निर्माणमा सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

दुवै मुख्यमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, घटनामा संलग्न दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन प्रदेश सरकारमार्फत नेपाल सरकारसँग समन्वय गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

कुराकानीका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकार शान्ति, सुरक्षा र सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन तथा संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए ।

यसैबीच, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले पनि उक्त घटनाप्रति खेद प्रकट गरेको छ ।

बैठकले प्रदेश सभाका विभिन्न समितिमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याएर सभामा पेश गर्न सम्बन्धित समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ को बजेट सन्तुलित, समानुपातिक र समावेशी ढंगले विनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

बैठकले हिमाली गाउँपालिका–३ स्थित च्याचौरमा अस्थायी प्रहरी चौकी निर्माणका क्रममा केही व्यक्तिहरूद्वारा अवरोध सिर्जना गरी संरचनामा क्षति पुर्‍याइएको तथा आक्रमणबाट केही व्यक्ति घाइते भएको घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न र चौकी निर्माण कार्य यथाशीघ्र अघि बढाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन संघीय सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार