काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन्।
मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समितिद्वारा शनिबार काठमाडौंमा आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन केवल राजनीतिक नेतृत्वकर्ता मात्र नभई जनताको आकाङ्क्षा, लोकतान्त्रिक मूल्य र राष्ट्रिय आवश्यकतालाई राजनीतिक कार्यक्रममार्फत संस्थागत गर्न सक्ने विशिष्ट चिन्तक भएको बताए।
उनले भनिन्, ‘जननेता मदन भण्डारी सामान्य राजनीतिक नेता मात्रै हुनुहुन्नथ्यो, उहाँ विचार निर्माण गर्ने एक प्रखर नेताका रूपमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिनुभएको थियो।’ जननेता मदन भण्डारीका विचार, राजनीतिक योगदान तथा सञ्चारमैत्री व्यक्तित्वमाथि केन्द्रित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस गरिएको थियो।
कार्यक्रममा राजनीतिक व्यक्तित्व, सञ्चारकर्मी, युवा तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो।





