प्रधानमन्त्री शाह ‘अनिच्छुक’ देखिएपछि भारतले रविलाई बोलायो

२०८३ जेष्ठ १०, आईतवार

काठमाडाैं : प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको कुनै टुंगो नलागे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा उनले आगामी जुन १ देखि २ सम्म भारत भ्रमण गर्ने रास्वपा स्रोतले जानकारी दिएको छ।

रास्वपा स्रोतका अनुसार भारत भ्रमणका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ। यद्यपि यसबारे कुनै औपचारिक सूचना जारी गरिएको छैन। भारत भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिश्री तथा अन्य अधिकारीहरूसँग भेट्ने समेत तय भइसकेको रास्वपा स्रोतले जानकारी दिएको छ।

सभापति लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनसँग पनि भेट गर्ने कार्यक्रम छ। सभापति लामिछानेको स्वागत भारतीय जनता पार्टीको कार्यालयमा गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भेट नदिने भएपछि भारतीय विदेश सचिव बिक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। मिश्री प्रधानमन्त्री शाहलाई भारत भ्रमणको ‍औपचारिक निमन्त्रणा दिन नेपाल आउन लागेका थिए।

मिश्रीको भ्रमण स्थगित भएको केही दिनमै भारत र चीनबीच लिपु लेकबाट कैलाश यात्रा हुने सम्झौता भएपछि नेपालले कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो। नेपालको बाटो हुँदै भारत-चीन मार्ग खुला गर्दा नेपालसँग कुनै छलफल नगरिएको भन्दै सरकारले भारत र चीन दुवै देशसँग आपत्ति प्रकट गरेको थियो।

परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने बताइए पनि उनको भ्रमण पनि अन्तिम समयमा रद्द भएको थियो। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ बहुमत आएपछि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाहलाई टेलिफोन गरेरै बधाई दिएका थिए। यद्यपि प्रधानमन्त्री बनेपछि शाहले अन्य देशहरूजस्तै भारतसँग पनि कूटनीतिक दूरी राखेका थिए।प्रधानमन्त्री शाहको भ्रमणका लागि निमन्त्रणासम्म दिन नपाएपछि भारतले रास्वपा सभापति लामिछानेलाई भारत भ्रमणमा बोलाएको हो।Deshsanchar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार