जुम्ला : पातारासी गाउँपालिका–३ स्थित छुमचौरमा धान रोपाइँ सुरु भएको छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने परम्परा छ ।
गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि विकास कार्यालयका कर्मचारीलागायत स्थानीयको सक्रियतामा छुमचौरको जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएको छ ।
मार्सी लोप हुन नदिन गाउँपालिकाको छुमचौर जिउलोमा सामूहिक रोपाइँ गर्ने चलन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत हेम शर्मा चापागाईंले जानकारी दिए । जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए ।
गत वर्षको कात्तिकदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लाबाहिर करिब १७५ मेट्रिक टन जुम्ली मार्सीधानको चामल बिक्री वितरणबाट करिब रु तीन करोड ५० लाख किसानले आम्दानी गरेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीको भनाइ छ ।
परम्परागत खेती प्रविधिमा केही रोग कीरा बढ्दा कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन यहाँ सिफारिस गरिएको छ । अनुसन्धानले आगामी वर्ष मार्सी १८, २० र २२ जातको धान सिफारिस गर्ने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।











