काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा दुई दिवसीय भ्रमणमा जान लागेका उनले उच्च राजनीतिक भेटघाट गर्ने तय भएको छ । लामिछाने १८–१९ जेठसम्म भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यतालिका छ ।
भारतीय जनता पार्टीको मुख्यालय अवलोकन गर्दै लामिछानेले अध्यक्ष नवीनसँग द्विपक्षीय वार्ता पनि गर्नेछन् । भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, रविपत्नी निकिता पौडेल लामिछाने, स्वकीयसचिव अविनाश आचार्य रहनेछन् ।
रास्वपा विदेश विभाग प्रमुख बोहराले सभापति लामिछानेको भारत भ्रमण हुन लागेको र उच्चस्तरीय भेट हुने तय भएको बताए । लामिछाने २० जेठमा स्वदेश फर्किनेछन् ।





