जनकपुर : नागरिकका कामलाई छिटो र प्रभावकारी बनाउन नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच १५ बुँदे सहमति भएको छ। तीन दलका मधेस प्रदेशस्तरीय नेताहरूले संयुक्त रूपमा समझदारी पत्रमा हस्ताक्षर गर्दै सरकार सञ्चालन, बजेट निर्माण, विकास योजना र सुशासनका विषयमा साझा धारणा आज सार्वजनिक गरेका हुन्।
समझदारीअनुसार सरकार सञ्चालन गर्दा दलहरूबिच आपसी समन्वय र सहमतिलाई प्राथमिकता दिइने जनाइएको छ। जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने, सुशासन कायम गर्ने र विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता पनि गरिएको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा विकास योजनामा एक करोडभन्दा कम रकम विनियोजन नगर्ने उल्लेख गरिएको छ। साथै विकास निर्माणका योजना खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट सञ्चालन गरिने सहमति भएको छ।






