काठमाडौँ : रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले फाइनलको यात्रा तय गरेको हो। पराजित गुजरातले भने फाइनल प्रवेशका लागि अब एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। बुधबार नयाँ चण्डीगढमा हुने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै छन्।
हिमाचलको धर्मशालास्थित एचपीसीए स्टेडियममा भएको क्वालिफायर-१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल लक्ष्य दिएको थियो।
२५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा मात्र १६२ रनमा समेटियो। प्रारम्भिक ब्याटर साई सुदर्शन १४ रनमा हिट-विकेट आउट भए भने कप्तान शुभमन गिल मात्र २ रनमा पभेलियन फर्किए। जोस बटलरले ११ बलमा २९ रन जोड्दै केही आशा जगाए पनि जोश हेजलवुडले उनलाई बोल्ड गरे। ५१ रन जोड्दा गुजरातले आफ्ना ५ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो।
बैंगलोरका लागि ज्याकब डफीले ३ विकेट लिएका थिए भने कृणाल पाण्ड्या, भुवनेश्वर कुमार र रसिक सलामले २–२ विकेट बाँडेका थिए।





