काठमाडौँ : एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको छ ।
मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनविरुद्ध पहिलो जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको चीन पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०६ रनमा समेटिएको हो ।
चीनका लागि कप्तान जु मिजुले सर्वाधिक ३० रन जोडे भने वाङ हुइवाङले २१ रन थपे । चीनलाई सस्तैमा समेट्न नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा पूजा महतो, मनिषा उपाध्याय र कविता कुँवरले एकएक विकेट लिए । पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले अर्धशतक बनाएका थिए।
महतोले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ६३ रन बनाउनुभएको हो । रुबी पोदारले नटआउट २२ रन जोड्दा सोनी पाख्रिनले १८ रन थपेका थिए। चीनका लागि कसिलो बलिङ गर्दै मा रुइकेले दुई विकेट हात पार्दा वाङ हुईइङ र ली ली च्याफिङले एकएक विकेट हात पारे।





