काठमाडौं : म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ।
आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा लोकप्रिय गायक प्रताप दासको स्वर सुन्न सकिन्छ। गीतका मर्मस्पर्शी शब्दहरू प्रताप शाहीले कोरेका हुन् भने सङ्गीतकार सुवास पुन मगर हुन्। गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई निकै मार्मिक र कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
विशेष गरी सामाजिक सञ्जाल (फेसबुक) बाट सुरु हुने प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तर तथा सहर र गाउँको परिवेशलाई अर्थपूर्ण संवादसहित भिडियोमा जीवन्त रूपमा उतारिएको छ।
उत्तम हुमागाईँको छायाङ्कन रहेको यस भिडियोलाई हरि हुमागाईँले निर्देशन तथा सम्पादन गरेका हुन्। भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्ले जस्ता अनुभवी तथा नवोदित कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।









