गोरखा : उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
धार्चे गाउँपालिका–२ केरौँजाकी सुत्केरी विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूतिगृह पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
चौबीस वर्षकी विकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी (इक्लामसिया) भएकाले उद्धार गरिएको सप्रजिअ शर्माले जानकारी दिए। विक १३ दिनअघि सुत्केरी भएकी थिइन्। तर आज बिहान एक्कासि बिरामी भएर ढलेको र तत्काल सघन उपचारको खाँचो परेकाले उद्धार गर्नुपरेको धार्चे स्वास्थ्य शाखाका अमृत घलेले जानकारी दिए।
‘यो अवस्थामा तत्काल आइसियुमा राखेर उपचार नगरे ज्यान जाने जोखिम भएकाले दिउँसो २ः०० बजेतिर हेलिकोप्टरमा उद्धार गरी काठमाडौं पुर्याइएको हो’, उनले भने, ‘अहिले सुत्केरीको अवस्था गम्भीर नै छ। केरौंजा स्वास्थ्यचौकीबाट एकजना स्वास्थ्यकर्मी र बिरामी कुरुवा पनि सोही हेलिकोप्टरमा पठाएका छौँ।’









