काठमाडौं : सनराइजर्स हैदराबादविरुद्ध ४७ रनको जित निकाल्दै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
राजस्थानले अब फाइनल प्रवेशका लागि गुजरात टाइटन्सको सामना गर्नेछ । पराजित हैदराबाद भने बाहिरिएको छ । बुधबार न्यु चण्डिगढस्थित महाराजा यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न इलिमिनेटरमा राजस्थानले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.२ ओभरमा सबै विकेट गुमाएर १९६ रनमा बनायो ।
हैदराबादका नितिशकुमार रेड्डीले ३८, सलिल अरोराले ३५, इशान किशनले ३३, शिवांग कुमारले २७, हेनरिक क्लासेनले १८ र ट्रभिस हेडले १७ रन बनाए । छैटौँ विकेटका लागि नितिश र सलिलबीच ५६ रनको साझेदारी भएको थियो । दोस्रो विकेटका लागि इशान र ट्रभिसले ५१ रनको साझेदारी गरेका थिए ।
राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । नान्द्रे बर्गर, सुशान्त मिश्रा र रवीन्द्र जडेजाले समान दुई तथा यशराज पुञ्जाले एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २४३ रनको योगफल खडा गरेको थियो ।
राजस्थानका वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै ९७ रनको उत्कृष्ट इनिङ खेले । उनले २९ बलमा १२ छक्का र पाँच चौका प्रहार गरे ।





