काठमाडौँ : सार्वजनिक यातायातमा यात्रुको सुनको सिक्री लुटपाट गर्ने समूहमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले अनुसन्धानका क्रममा विभिन्न स्थानबाट चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का २९ वर्षीय जनक तामाङ, ३० वर्षीय मनकुमार तामाङ (साइमन), ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ का २५ वर्षीय उमेश मुक्तान तथा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ का ३० वर्षीय अर्जुन तामाङ रहेका छन्।
प्रहरीका अनुसार गत १३ जेठमा कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बसमा एक युवतीको सुनको सिक्री चोरी भएको भन्दै उजुरी परेको थियो। सो घटनापछि प्रहरीले अनुसन्धान तीव्र पार्दै आरोपितहरूलाई चोरी गरिएको सिक्रीसहित पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।





