काठमाडौं : नेकपा एमालेकी सांसद रिंगला यादवले संसद्मा आफूले कुर्सी नहानेको दाबी गरेकी छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा भएको तनावपूर्ण झडपका क्रममा कुर्सी उठाएको भिडियो र तस्बिर भाइरल भएपछि उनले मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त दृश्य आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत बनाइएको तर्क गरिन्।
संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसद यादवले प्रविधिको दुरुपयोग गरी आफ्नो बदनाम गर्न खोजिएको आरोप लगाइन्। ‘अहिले एआईले जे पनि बनाउँछ, यो सबै त्यसकै कमाल हो,’ उनले भनिन्, ‘मैले कुर्सी हानेकै छैन, म त कुर्सी उठाएर राख्न मात्र गएको हुँ। जानीजानी मैले त्यस्तो गरेको होइन।’
यद्यपि, उनले आफ्ना केही कमजोरी भएको स्वीकार गर्दै आत्मग्लानि महसुस भएको पनि बताइन्। संसद्को उक्त बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतीय भूमि मिचेको भनी दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले अवरोध गरेका थिए।
सोही क्रममा प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियामा असहमति जनाउँदै विपक्षी सांसदहरू वेलमा पुगेका थिए। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधनहरूलाई विषयगत समितिमा पठाउन माग गरे पनि सभामुखले प्रक्रिया अघि बढाएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो।
सांसद यादवले संसद्मा उत्पन्न हुलमुलका कारण अन्जानमा केही गल्ती भएको बताउँदै भनिन्, ‘मैले कुर्सी उठाएर राख्न खोज्दा खिचेर कुर्सी नै हान्यो भनेर प्रचार गरियो। अन्जानमा भएको यो भूलका लागि मलाई आत्मग्लानि भएको छ र मैले यसअघि नै क्षमायाचना गरिसकेको छु।’
उनले आफू सुस्तावासी भएको नाताले राष्ट्रियताको मुद्दामा आवेगमा आउनु स्वाभाविक भएको तर्क गरिन्। संसद्मा भएको उक्त अराजक गतिविधिबारे छानबिन गर्न समिति बनिसकेको सन्दर्भमा उनले निष्पक्ष छानबिनको मागसमेत गरिन्।





