काठमाडौँ : बलिउड अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्राट चाँडै नै विवाह गर्ने भएका छन्।
हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार यस जोडीले ५ जुलाईमा एक निजी समारोहमा विवाह गर्ने उल्लेख गरेको छ। जहाँ कुनै भव्य समारोह वा स्वागत समारोह हुनेछैन।
दुवैले एउटा सानो हस्ताक्षर समारोहमार्फत आफ्नो सम्बन्धलाई औपचारिक बनाउनेछन्। आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनमा मिडियालाई गौरीसँगको आफ्नो सम्बन्धको पुष्टि गरेका थिए। यो आमिर खानको तेस्रो विवाह हुनेछ।
आमिरले पहिलो विवाह सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग गरेका थिए। सन् २००२ मा रीनासँग अलग भएपछि आमिरले २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरे। किरण र आमिरले सन् २०२१ मा सम्बन्धविच्छेद गरेका थिए।
मिडिया रिपोर्टका अनुसार, आमिर र गौरी एक वर्षभन्दा बढी समयदेखि लिभ-इन पार्टनरको रूपमा सँगै बस्दै आएका छन्। अब, उनीहरूले आफ्नो परिवारको उपस्थितिमा आफ्नो सम्बन्धलाई कानुनी रूपमा परिवर्तन गर्नेछन्। यो जोडीको विवाहमा परिवार र नजिकका साथीहरू मात्र उपस्थित हुने जनाइएको छ।
गौरी स्प्राट बेंगलुरुकी सैलुन उद्यमी र फेसन डिजाइनर हुन्। उनका बुबा तमिल-ब्रिटिश मूलका हुन् र उनकी आमा पंजाबी-आइरिश मूलकी हुन्।
गौरीले लन्डनको कला विश्वविद्यालयबाट फेसन र स्टाइलिङको अध्ययन गरेकी छन्। उनी हाल मुम्बईमा सैलुन चलाउँछिन् भने पहिले बेंगलुरुमै सैलुन चेनमा काम गर्थिन्।
उनी अहिले आमिर खान प्रोडक्सनमा काम गरिरहेकी छन्। आमिर खान जस्तै गौरीको पनि केही समयअघि सम्बन्धविच्छेद भएको थियो।उनको सात वर्षको बच्चा पनि छ।
आमिर र गौरीले एकअर्कालाई २५ वर्षभन्दा बढी समयदेखि चिन्छन्। डेटिङ सुरु गर्नुअघि उनीहरू सुरुमा राम्रा साथी थिए। सम्बन्धलाई खुलाएसँगै गौरी विभिन्न कार्यक्रममा आमिर खानसँगै देखिने गरेकी थिइन्। गौरी ४७ वर्षकी भइन्।








