काठमाडौँ : एभरेष्ट कलरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाट गरेपश्चात अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओमा जेठ २७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने छ।





