राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठायो : घिसिङ

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय भेषराज दर्जीको निधनको खबरले अत्यन्त दुःखी र स्तब्ध बनाएको बताएका छन्। उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुम्बासीलाई व्यवस्थापन गर्ने स्पष्ट र दिगो योजनाबिना सुरक्षा बल परिचालन गरी बस्ती हटाउने कार्यले गम्भीर मानवीय संकट निम्त्याएको देखिएको उनको तर्क छ। उनका अनुसार घरबारविहीन बनाइएका नागरिकमध्ये हालसम्म तीन जनाले ज्यान गुमाइसकेको दुखद अवस्था रहेको छ।

मृतक दर्जीको स्वास्थ्य अवस्था जटिल रहेकाले विशेष उपचारको आवश्यकता रहेको तर आवश्यक उपचार र हेरचाह समयमै उपलब्ध हुन नसकेको तथ्य बाहिरिएको बताउँदै यस घटनाले विस्थापित नागरिकको व्यवस्थापन, स्वास्थ्य सुरक्षा र आधारभूत मानव अधिकारप्रति राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको घिसिङले बताए।

उनले सामाजिक सञ्जालामा लेखेका छन्, ‘सरकारले बस्ती हटाउने कार्यमा देखाएको तत्परताजस्तै प्रभावित परिवारको पुनर्स्थापना, सुरक्षित आवास, स्वास्थ्य सेवा तथा न्यूनतम मानवीय सुविधाको सुनिश्चिततामा पनि समान संवेदनशीलता र जिम्मेवारी देखाउन आवश्यक छ।’

उनले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पर्याप्त आवास, स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत सुविधा उपलब्ध गराई सम्मानजनक जीवनयापनको वातावरण सिर्जना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार