काठमाडौं : लेखक तथा निर्देशक युगल पोमोको निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र जोर ढुंगा हङकङमा प्रदर्शन हुने भएको छ।
चलचित्रको ग्राण्ड प्रिमियरअघि गत मे ३० मा आयोजित एक कार्यक्रममा चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। कार्यक्रममा आगामी अगस्ट ३०, २०२६ मा हङकङको हुङहम वाम्पोस्थित सानविम सिनेमा हलमा चलचित्रको ग्राण्ड प्रिमियर गरिने जानकारी दिइएको थियो।
ताप्लेजुङको निगुरादेन क्षेत्र आसपासका रमणीय स्थानमा छायांकन गरिएको चलचित्र ‘जोर ढुंगा’ लिम्बु समुदायको पृष्ठभूमिमा आधारित छ। अंग्रेजी सबटाइटल तथा स्थानीय संवाद समावेश गरिएको चलचित्रले लिम्बु संस्कृति र जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। वाई के फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा जेनेक्स मिडिया र शाहसी डिजिटलको सहकार्य रहेको छ।
चलचित्रका निर्माता रमेश लिम्बु, रोमन लावती र योगेश लामा रहेका छन् भने अमेरिकामा बसोबास गर्ने ह्यारी योञ्जन कार्यकारी निर्माता हुन्। सिनेमामा प्रतीक थेबे लिम्बु, मौसम इम्बुङ (फुलेन्देको बाउ), पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिद्धार्थ लिम्बु, विष्णु राई तथा मदनकुमारी पोमु लिम्बूको मुख्य भूमिका रहेको छ।
सुरेन्द्र रानाको गीत तथा संवाद लेखन रहेकोचलचित्रको निर्माण नियन्त्रक अनिल थोप्रा हुन्। अनिल कुमार महर्जनले सम्पादन गरेको चलचित्रको छायांकन मोहनकुमार झिल्लुले गरेका छन्। साथै, दिनेश माङमु प्रोडक्सन डिजाइनर, निश्चल कुलुङ कला निर्देशक, राजेन्द्र मोक्तान कलरिस्ट, जानु आले मेकअप आर्टिस्ट तथा महेश्वर सम्बाहाङफे मुख्य सहायक निर्देशक रहेका छन्।








