स्याङ्जा : स्याङ्जाको चापाकोट–४ पुम्दीमा बुधबार साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। बुधबार साँझ ६ बजे टिपर दुर्घटना हुँदा घाइते भएका परियारलाई उपचारकालागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही टिपरमा रहेका म्याग्दीकै मालिका–५ का १८ वर्षीय करन परियार घाइते भएका छन् । उनको हात र खुट्टामा सामान्य चोट लागेको छ । उनको गह्रौँ प्राथमिक अस्पतालमै उपचार भइरहेको छ । चापाकोट–४ मल्याङकोटबाट सोही वडाको घुर्लीचौर जाने सडक निर्माणलागि बालुवा बोकेर जाँदै थियो ।
ग१क ४४४६ नम्बरको टिपर उकालो बाटो चिप्लो भई सडकबाट झण्डै १०० मिटर तल खसेको सूचना अधिकारी अवस्थीले जानकारी दिए । घटनास्थलबाट टिपर चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए ।





