काठमाडौँ : सर्वोच्च अदालतले सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता अनिलकुमार साहलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले गृह मन्त्रालयको नाममा यो आदेश जारी गरेको हो। परीक्षाका क्रममा परीक्षार्थीबाट प्रहरीले मोबाइल फोन र स्मार्टवाच लगायतका सामग्री जफत गरेपछि अधिवक्ताहरू विकास यादव र अनिलकुमार साहले सर्वोच्चमा रिट दायर गरेका थिए।
परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट विद्यार्थीको साथबाट जफत गरिएका मोबाइल फोनहरू प्रहरीले हालसालै नष्ट गरेको खुलेको छ। मोबाइल फोन र स्मार्टवाच पानीको ड्रममा डुबाउँदा त्यहाँभित्र रहेका डाटा नष्ट हुनुका साथै करोडौँको क्षति भएको रिट निवेदकहरूको दाबी छ।






