परमा एकादशीमा बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको घुइँचो

२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौँ : परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ ।

भगवान् विष्णुको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगिरहेका छन् । मन्दिर परिसरमा भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ । दर्शनका लागि लामो लाइन लागेकाले श्रद्धालुहरूले आफ्नो पालो कुरिरहेका छन् ।

मन्दिरमा विशेष आरती, भजन तथा कीर्तन कार्यक्रम सञ्चालन भइरहेको छ, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको छ । परमा एकादशी हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्वको दिन मानिन्छ । यस अवसरमा भक्तजनहरू व्रत बस्ने, पूजा गर्ने तथा भगवान् विष्णुको आराधना गर्ने परम्पराअनुसार मन्दिरमा पुगिरहेका छन् ।

यही कारणले बुढानीलकण्ठ मन्दिरमा आज हजारौं भक्तजनहरूको उपस्थिति देखिएको छ । यो एकादशी पुरुषोत्तम महिना (अधिक मास) को अन्तिम एकादशी हो । हिन्दु पञ्चाङ्गअनुसार हरेक तीन वर्षमा एक पटक आउने पुरुषोत्तम महिनालाई भगवान् विष्णुको सर्वोत्तम स्वरूप ‘पुरुषोत्तम’को नामबाट चिनिन्छ ।

यो महिना व्रत, दान, स्नान, पाठपूजा तथा भगवान् विष्णुको आराधनाका लागि अत्यन्त शुभ र फलदायी मानिने धार्मिक विश्वास छ । यस अवधिमा गरिने पुण्य कार्य साधारण महिनाको तुलनामा धेरै गुणा फलदायी हुने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार