काठमाडौं : चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने जनाएको छ।राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसी लगायतका कलाकारको अभिनय छ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन्। चलचित्रको मुख्य सहायक निर्देशकमा शम्भु गौतम हुन् भने किशोर डंगोल र नरेन्द्रकुमार केसी सह-निर्देशकको भूमिकामा छन्।
दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ। निर्माण नियन्त्रकको जिम्मेवारी सुनिलप्रसाद श्रेष्ठले सम्हालेका छन्। चलचित्रमा श्रीपुरुष ढकालका शब्द, रोशन बालुवाको संगीत तथा स्वर समावेश गरिएको छ। चलचित्रको बितरकमा दिपक दंगाल, नेशनल सिने ग्रुप नेपाल रहेको छ। चलचित्रको ट्रेलर ओभिएज डिजिटलटेनमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।





