प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६ सम्पन्न

२०८३ असार ७, आईतवार

काठमाण्डौ : काठमाण्डौको रविभवनस्थित निसर्ग बाटिका स्कुलको आयोजनामा भएको ‘प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ को उपाधि पुष्पसदन सेकेन्डरी बोर्डिङ स्कुलले जितेको छ । गत जेठ ९ (मे २३) देखि सुरु भई आइतबार सम्पन्न प्रतियोगिताको फाइनल लिग स्ट्यान्डिङमा शीर्ष स्थान कायम गर्दै पुष्पसदन च्याम्पियन बनेको हो ।

विजेता पुष्पसदनले लिग अवधिभर कुल १२ अंक जोड्यो । समान १२ अंक नै जोडेको राराहिल मेमोरियल स्कुल भने प्राविधिक समीकरणका आधारमा उपविजेतामै चित्त बुझाउन बाध्य भयो । लिगमा प्रत्येक जितका लागि २ र हारका लागि शून्य अंकको व्यवस्था गरिएको थियो । प्रतिस्पर्धात्मक बनेको लिगमा १० अंकसहित स्वर्णिम स्कुल तेस्रो स्थानमा रहन सफल भयो ।

आठ टोली सहभागी लिगको चौथो स्थानमा एलआरआई स्कुल (८ अंक) र पाँचौँ स्थानमा न्यू जेनिथ इङ्लिस मोडेल स्कुल (६ अंक) रहे । आयोजक निसर्ग बाटिका स्कुल र भ्याली भ्यु स्कुलले समान ४–४ अंक जोड्दै क्रमशः छैटौँ र सातौँ स्थान हात पारे । लिग अवधिभर अंकको खाता खोल्न नसकेको हिल-टाउन सेकेन्डरी स्कुल तालिकाको अन्तिम स्थानमा रह्यो ।

प्रतियोगिताको विधागत पुरस्कारतर्फ एलआरआईका सुजल मदाइ उत्कृष्ट स्कोरकर्ता (टप स्कोरर) चुनिए । उनले प्रतियोगिताभर कुल १४५ अंक स्कोर गरेका थिए । विजेता टोली पुष्पसदनका मातृका बुढाथोकी प्रतियोगिताकै सबैभन्दा महत्त्वपूर्ण खेलाडी (एमभीपी) घोषित भए ।

विद्यार्थीहरूको चौतर्फी विकासका लागि आयोजक निसर्ग बाटिका विद्यालयले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको छ । विद्यालयले हरेक वर्ष पौडी (स्विमिङ) तथा अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा आयोजना गर्दै आएको र यसै सिलसिलामा यस वर्ष विद्यालय स्तरको बास्केटबल जगलाई थप बलियो बनाउने उद्देश्यले झन्डै एक महिना लामो लिग सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार