पुराना दलबाट सिक्ने हो भने हामीलाई लडाउने शक्ति कोही हुँदैन : रवि लामिछाने

२०८३ असार ७, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गरेका हुन् । पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह पनि उनको थियो ।

‘यतिबेला हामीले गुट उपगुटतिर नलागेर विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर अगाडि बढ्ने हो भने रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन,’ लामिछानेले भने ।

सभापति लामिछानेले कतिपय अवस्थामा अरूले गरेको त्याग र बलिदानलाई सहज रूपमा स्वीकार गर्ने तर आफूले त्याग गर्नुपर्दा कठिन महशुस गर्ने देखिन थालेको पनि बताए ।

‘कहिलेकाहीँ के हुँदो रहेछ भने त्याग र बलिदान भनेको अरूले गर्‍यो भने खुशी मान्ने आफूले गर्‍यो भने दु:ख मान्ने कुरा हुने रहेछ । यसबाट सचेत रहनको लागि म अनुरोध गर्न चाहन्छु,’ सभापति लामिछानेले भने, ‘यो ऐतिहासिक महाधिवेशनले हामीबीचमा पनि केही वैमनश्यता रहेछन् भने त्यसलाई अन्त्य गर्ने बिन्दु बनोस् भन्ने म चाहना राख्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार