चितवन : चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको है।
प्रतिनिधिको अपेक्षित सङ्ख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन असार१० गतेसम्म लम्बिने देखिएको हो।
महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आँकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने बताए। उनका अनुसार प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ।
पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिको अभाव रहेको स्वीकार गर्दै झाले यसलाई सिकाइको रूपमा लिएको उल्लेख गरे। पार्टी नेतृत्वका लागि सहमति जुटाउने प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी समेत गरिएको छ। हाल दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोलीले काम गरिरहेको जानकारी दिइएको छ।





