काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले चिया तथा अलैँची क्षेत्रको समस्याप्रति राज्य गम्भीर बन्न नसकेको बताएका छन्। इलाम नगरपालिकाको नगरसभामा सम्बोधन गर्दै मुलुकमा विदेशी ऋणको चर्चा भइरहेका बेला करिब १४ अर्ब रुपैयाँ बराबरको चिया उत्पादन गोदाममा थन्किएको र बिस्तारै नष्ट हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए। चिया निर्यातमा देखिएको अवरोध समाधान गर्न राज्यले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोप लगाए।
उनले भने, चिया मजदुर, किसान, उद्यमी र व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै उत्पादन भएर पनि बजार नपाउँदा ठुलो आर्थिक क्षति भइरहेको छ। विगतमा म संविधानसभा सदस्य तथा उद्योग तथा वाणिज्य समितिको सभापति रहँदा चिया क्षेत्रको विकासका लागि प्रयास गरेको हुँ।
इलामसहित पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने अलैँचीको पनि चर्चा गर्दै देशको ७०-८० प्रतिशत अलैँची उत्पादन यही भूगोलमा हुने बताए। तर सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले चिया तथा अलैँची किसानलाई प्रोत्साहन गर्ने, बजार सुनिश्चित गर्ने र व्यावसायिक अवसर विस्तार गर्ने विषयलाई पर्याप्त रूपमा सम्बोधन नगरेको उनको आरोप लगाए।
प्रदेश र संघबाट पर्याप्त स्रोत तथा बजेट नपुग्दा स्थानीय तह र वडा तहका जनप्रतिनिधिहरूले जनअपेक्षा अनुसारका विकास तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ भोगिरहेको बताए।
उनले जनप्रतिनिधिलाई कानुनभन्दा माथि राख्ने प्रयास भएको बताए। जनप्रतिनिधि छुट्टै टापुको जस्तो गरेर विशिष्ट व्यक्तिको रूपमा चित्रित गर्न खोजेपछि आफूहरूले विरोध जनाएको बताए।
उनले भने, ‘कानुनले सबै जनप्रतिनिधिहरू बाँधिनुपर्छ। त्यो कुराको अन्तिम व्याख्या गर्ने जिम्मा सभामुखलाई दिएको छ, यसले सभामुखको मर्यादालाई थप निरङ्कुश बनाउँछ भन्ने चिन्तामा हाम्रो विरोध हो। तर त्यो विरोध पनि अन्तिममा बहुमतले निर्णय गरेको तपाईँहरूले प्रत्यक्ष देखिराख्नुभएको छ। यद्यपि यस विषयमा हाम्रा लडाइँ अहिले पनि जारी छ।’





