रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादनको माग बढ्यो

२०८३ असार १०, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनहरू मोही, दही र आइसक्रिमको बिक्री वितरणले विशेष आकर्षण बटुलिरहेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको डीडीसीका मोही, दही, फ्लेभर मिल्क, आइसक्रिमलगायत उत्पादनका साथै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र डीडीसीको सहकार्यमा विभिन्न दुग्ध उत्पादक सहकारी तथा डेरीहरूले आकर्षक प्लास्टिक बोतलमा प्याक गरिएको मोही बिक्री गरिरहेका छन्।

डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको स्टलमा विभिन्न दुग्ध सहकारी तथा डेरीहरूले आफ्ना उत्पादन बिक्री गरिरहेका छन्। गर्मी मौसमका कारण विशेषगरी मोहीको माग उच्च रहेको डीडीसीका प्राविधिक संजीव यादवले बताए। उनका अनुसार मोहीलाई ‘ड्रिङ्किङ योगर्ट’ का रूपमा समेत प्रयोग गरिने भएकाले शरीरलाई शीतलता र हाइड्रेसन प्रदान गर्न मद्दत पुग्छ। त्यसैगरी केसरयुक्त फ्लेभर मिल्कप्रति पनि उपभोक्ताको आकर्षण बढेको छ।

महाधिवेशनको सुरुवाती दिनमा बिक्री ह्वात्तै बढेको थियो र हाल दैनिक औसत एकलाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ। संस्थानले उपभोक्ताको मागलाई ध्यानमा राख्दै सेवामूलक भावनाका साथ छुट मूल्यमा उत्पादनहरू उपलब्ध गराएको छ। उदाहरणका लागि, बजारमा ७० रुपैयाँ पर्ने मोही र केसर मिल्कलाई ६० रुपैयाँमा र ३१० रुपैयाँ पर्ने लालमोहन पेडालाई २९० रुपैयाँमा बिक्री गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार