काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’ मा गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको अभियोगमा ४७ वर्षीय चेतन ए.एम. (पौडेल) लाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर ज.ब.रा. का अनुसार साविक मातातिर्थ गाविस वडा नं. ७ ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मा बसोबास गर्ने पौडेललाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
उनले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट चिकित्सकको स्थायी इजाजत पत्र प्राप्त नगरीकन नै आधुनिक चिकित्सा निदान र उपचारमा संलग्न रहँदै आएको प्रहरीको दाबी छ। नेपाल मेडिकल काउन्सिल बाँसबारीले गरेको नियमित अनुगमनका क्रममा पौडेलले चिकित्सकको उपाधि अनाधिकृत रूपमा प्रयोग गरिरहेको फेला पारेको थियो।





