काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।
निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ ।
भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई आत्मसंयम, अनुशासन, स्वास्थ्य र सांस्कृतिक जीवनशैलीसँग समेत जोडिएको छ । आज पूर्ण रूपले उपबास बसी जल वा सर्बतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधिनी एकादशीको दिन भगवान् विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ ।





