पेट्रोलियम पदार्थको मूल्य बढ्दा नयाँ मूल्य तुरुन्तै लागू हुने, घट्दा नहुने ? : प्रदीप पौडेल

२०८३ असार ११, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३० प्रतिशतले भारी गिरावट आउँदा पनि नेपालमा भाउ नघटाएकोप्रति असन्तुष्टि जनाएका छन् ।

उपभोक्ताले अझै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद भएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र ? मूल्य किन घटेन भन्ने जनगुनासोमा आयल निगमले हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन भन्ने जस्ता बहाना देखाउने गरेको छ। कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्छ।’

कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा घटाउनको उनको भनाइ छ।

उनले थपेका छन्, ‘यतिका दिन बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई, तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेका छन्। यसले नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको छ।’

नियमित १५/१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्ने सुझाउँदै पौडेलले भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा लागू नहुने ? भन्दै प्रश्न गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार