अबको राजनीतिक विकल्प हामी हौं : राजेन्द्र लिङ्देन

२०८३ असार १४, आईतवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतनको दिशामा रहेको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले रास्वपाको पतन निश्चित भएको र अबको राजनीतिक विकल्प राप्रपा नै रहेको बताएका हुन्।

अध्यक्ष लिङ्देनले रास्वपाको पतन पर्खेर मात्र राप्रपाको उदय नहुने भन्दै कार्यकर्ताहरूलाई सचेत गराए। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि स्वतः राप्रपाको पालो आउँछ भनेर बस्नु गलत हो। त्यसका लागि हामीले आफैँलाई बदल्नुपर्छ। हाम्रो सङ्गठन संरचना, कार्यशैली र सोचमा आमूल परिवर्तन गरेर अघि बढ्नुपर्ने आजको आवश्यकता हो।’ जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिन सके मात्र जनताले पत्याउने उनको भनाइ छ।

पार्टीभित्रको गुट–उपगुटको राजनीतिप्रति लक्षित गर्दै उनले अब कुनै नेताको पुच्छर समातेर पार्टीमा नटिक्न कार्यकर्तालाई निर्देशन दिए। उनले थपे, ‘विभाजनको लामो यात्राले कसैलाई फाइदा गरेन। अब हामीलाई आपसी प्रेम, विश्वास र एकता चाहिएको छ। हामीले नेताको होइन, जनताको हात समातेर पार्टीलाई बलियो बनाउनुपर्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार