कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार छु: शशांक कोइराला

२०८३ असार १५, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनका लागि आफू जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको बताएका छन्। राष्ट्रिय धान दिवसका अवसरमा महाराजगञ्जस्थित कोइराला निवासमा आयोजित दही-चिउरा खाने तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। पूर्वमहामन्त्री कोइरालाले आम नेता तथा कार्यकर्ताहरूलाई पार्टीलाई एक ढिक बनाउन आ-आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरे।

उनले हाल पार्टी विभक्त अवस्थामा जस्तो देखिएकाले मुलुकको वृहत्तर हित र समृद्धिका लागिसमेत कांग्रेस एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पार्दै आफू सधैँ सिंगो र सबल कांग्रेसको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे। कोइराला निवासमा आयोजित उक्त असार १५ को विशेष कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, चन्द्र भण्डारी, गुरुराज घिमिरे, भीष्मराज आङदम्बे, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, दीपक खड्का, दीपक गिरी, रमेश लेखक, रामहरि खतिवडा सहित विभिन्न जिल्लाका पार्टी सभापतिहरू, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको थियो।

सो अवसरमा नेता कोइरालाले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गरे। उनहाँले वास्तविक किसानको हितमा ठोस काम गर्न सकेको खण्डमा मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुनेमा जोड दिए। नेपालले विक्रम संवत् २०६१ सालदेखि हरेक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ। मुलुकमा कृषि क्षेत्रमा परनिर्भरता बढ्दै गएका कारण स्वदेशी उत्पादकत्व बढाउने मुख्य उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

नेपाली समाजमा असार १५ का दिन खेतमा रोपाइँ गरी दही-चिउरा खाएर पर्वका रूपमा मनाउने मौलिक परम्परा रहिआएको छ। आजको दिन रोपाइँ गरेर दही-चिउरा खानाले स्वास्थ्य र सामर्थ्य राम्रो हुने जनविश्वास छ। यही धार्मिक तथा सांस्कृतिक विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरूले पनि अरूको खेतमा पुगेर रोपाइँ गर्ने, हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने र दही-चिउरा खाएर असार १५ लाई उत्सवका रूपमा मनाउने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार