१२ वर्षयताकै अनुशासित बजेट ल्याएका छाैँ : अर्थमन्त्री

२०८३ असार १५, सोमबार

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट पछिल्लो १२ वर्षयताकै सबैभन्दा अनुशासित रहेको दाबी गरेका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले वर्तमान बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको २८ दशमलव ५ प्रतिशत मात्र रहेको उल्लेख गर्दै यो पछिल्लो १२ वर्षयताकै सबैभन्दा सानो र अनुशासित बजेट भएको बताए।

उनले बजेट कार्यान्वयनका विषयमा कुनै आशंका नगर्न आग्रह गर्दै कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयको केन्द्रीकृत अधिकारलाई विकेन्द्रीकरण गरिएको जानकारी दिए । विभिन्न मन्त्रालयका फाइल अर्थ मन्त्रालयमा घुमाउनुपर्ने पुरानो अभ्यास अन्त्य गर्दै रकमान्तरसहितका धेरै अधिकार सम्बन्धित मन्त्रालयलाई नै हस्तान्तरण गरिएको उनले स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले बजेटमा शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा लगाइएको कर आमनागरिकको दीर्घकालीन हितलाई ध्यानमा राखेर तय गरिएको बताए। सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्य पूरा गर्ने उद्देश्यअनुरूप बजेट ल्याएको उनको भनाइ थियो ।

यसैबीच, राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार १७ गते बस्ने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार