काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ राजनीतिक दल गठन गर्न लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता खनालले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएकाले पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।
उनले वर्तमान लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको धारणा व्यक्त गरे । आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र वैचारिक विचलनलाई बहस र विचारमार्फत समाधान गर्नुपर्ने उद्देश्यले उक्त पुस्तक लेखेको उनको भनाइ थियो ।





