कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

२०८३ असार १६, मंगलवार

वाग्मती : जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौंं सडकखण्ड)मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ ।

मकवानपुरका प्रमुुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले मंगलबार जारी गरेको सूचनामा असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कान्ति लोकपथ हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरिएको सूचनाअनुसार असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको प्रशासनको सूचनामा भनिएको छ ।

ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुंगा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमयुक्त गतिविधि नगर्न तथा नगराउन आग्रह गरेको छ । प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा विशेष सतर्कता अपनाउन भनेको छ ।

मौसम तथा सडकको अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न भनिएको छ । सुरक्षित भएपछि मात्र यात्रा गर्न तथा कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

वर्षातको समयमा जोखिमको परिस्थिति मूल्यांकनको आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीद्वारा निश्चित समयको लागि आवागमन रोक्न सक्ने भएकाले सो कार्यमा सबैबाट सहयोग, समन्वयका लागि प्रशासनले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार