काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो । पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन् ।
यसअघि न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको फाइल झिकाउन भनेको थियो ।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।





